कोपा डेल रे को अन्तिम १६ मा बार्सिलोना र रियल मड्रिड
काठमाडौं, माघ ९ : बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको इबिजालाई दुई–एक गो....

काठमाडौं, माघ ९ : बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको इबिजालाई दुई–एक गोल अन्तरले हरायो । सुरुमै एक गोलले पछि परेको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल फर्काउन सफल भयो ।
इबिजाको मैदानमा भएको खेलमा जाभी पेरेजको नवौं मिनेटको गोलमार्फत घरेलु टिमले अग्रता लिएको थियो । ७२औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि इन्ज्युरी समयमा पनि ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
यस्तै, रियल मड्रिड पनि सालमान्कालाई तीन–एक गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । तेस्रो डिभिजनको पुछारमा रहेको सालामान्कालाई हराउनका लागि ग्यारेथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने अर्को एक गोल रियलले आत्मघाती पाएको थियो । १८औँ मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा अल्भारो रोमेरोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
६२औँ मिनेटमा हुवान गोंगोराले आत्मघाती गोल गर्दा रियल मड्रिडले अग्रता लियो । इन्ज्युरी समयमा डियाजले गोल गरेपछि रियल मड्रिडले सहज जित निकालेको हो । सेभिया, एथ्लेटिक क्लब, भ्यालेन्सिया, ग्रानाडा, भिल्लारियल र रियल सोसियडाड पनि प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सफल भएका छन् ।











