Kathmandu Press

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

प्रदेशका नौ जिल्लामा २२ लाख ३३ हजार आठ सय ३१ जनाले पूर्ण मात्रा लगाउँदा बुस्टर डोज लगाउने संख्या दश लाख १५ हजार ३७ मात्र छ।
सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

बैतडी, चैत २३ : सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून छ। प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा छ।

प्रदेशका नौ जिल्लामा हालसम्म २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने संख्या दश लाख १५ हजार ३७ मात्र रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन्। कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८ जनाले पूर्ण र एक लाख ९९ हजार आठ सय ५७ जनाले बुस्टर डोज लगाएको उनले बताए।

यस्तै बैतडीमा दुई लाख ११ हजार छ सय ५२ जनाले पूर्ण तथा ९८ हजार दुई सय १३ बुस्टर डोज, अछाममा एक लाख ८३ हजार छ सय दुई जनाले पूर्ण तथा ८८ हजार आठ सय ५२ जनाले बुस्टर डोज लगाएका छन् भने डोटीमा एक लाख ६१ हजार एक सय ३८ जनाले पूर्ण तथा ६३ हजार पाँच सय १४ जनाले बुस्टर डोज लगाएका छन्।

बझाङमा एक लाख ३७ हजार छ सय ११ पूर्ण तथा ३२ हजार एक सय १७ जनाले बुस्टर डोज लगाउँदा डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ जनाले पूर्ण तथा ६७ हजार पाँच सय ८४ बुस्टर डोज, बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले पूर्ण तथा २९ हजार आठ सय नौ जनाले बुस्टर डोज तथा दार्चुलामा एक लाख १४ हजार छ सय २८ जनाले पूर्ण तथा ४८ हजार नौ सय तीन जनाले बुस्टर डोज लगाएका छन् ।

प्रदेशभरि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ मात्रै रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए। उनले रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै रहेको उल्लेख गरे।

प्रदेशमा हाल कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ । पचपन्न वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ । उनीहरुका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशी बताउँछन्। - रासस
 

 

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, चैत २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्