कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने प्रधानमन्त्री दाहालको आश्वासन
पहिचानको मुद्दा उठाउने पार्टी माओवादी नै भएको बताउँदै प्रधानमन्त्री दहालले त्यसलाई नछाडेकाले नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन्।
काठमाडौं, चैत २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका छन् ।
कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको टोलीसँगको भेटमा पहिचानको मुद्दा उठाउने पार्टी माओवादी नै भएको बताउँदै प्रधानमन्त्री दहालले त्यसलाई नछाडेकाले नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन्।
तर, माओवादीले प्रदेश सभामा प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा मतदान गरेको थियो । उसले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो।
टोलीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले कोशी प्रदेशको पक्षमा प्रदेश सभामा मतदान गर्ने नीति पार्टी केन्द्रको नभएको बताए।
कोशी प्रदेशको नाममा मिसअन्डरस्ट्याण्डिङ उल्लेख गर्दैै प्रधानमन्त्री दाहालले शान्तिपूर्ण ढंगले सच्याएर समस्याको समाधान कसरी गर्ने भनेर पार्टीको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको माओवादीका नेता हिमाल किरातीले जानकारी दिए।
पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाहरुले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् ।











