रवि लामिछानेको उम्मेदवारी कायमै रहने
युवराज सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदनउपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको बताइएको छ।
चितवन, चैत २२ : चितवन २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ।
लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग राखी परेका उजुरीको छानबिन गरेर निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनले उनको उम्मेदवारी कायम राखेको जनाइएको छ। लामिछानेको उम्मेदवारी खारेजीको माग राखेर चैत २१ गते चारवटा उजुरी दर्ता भएका थिए।
तीनवटा उजुरी उमेदवार तथा उमेदवारका प्रतिनिधिले दिएका थिए भने एउटा उजुरी काठमाडौंबाट इमेलमर्फर्त युवराज पौडेल (सफल) ले दर्ता गरेका थिए।
लामिछानेविरुद्ध उजुरी दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदी हुन्।
युवराजको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदनउपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको बताइएको छ।











