बेथिति बढेकाे भन्दै गल्ती गर्नेलाई कारबाहीकाे दायरामा ल्याउने वायुसेवा निगमकाे चेतावनी
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर त्यस्तो चेतावनी दिएका हुन्।
काठमाडौं, चैत २२ : नेपाल वायुसेवा निगममा बेथितिका घटना बढ्दै गएको भन्दै व्यवस्थापन पक्षले गल्ती गर्नेहरुलाई कारबारही गर्ने चेतावनी दिएको छ।
निगमका प्रवक्ता रमेश पौडेलले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर त्यस्तो चेतावनी दिएका हुन्। ‘अब उप्रान्त यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित कर्मचारीलाई चेतावनी दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘छानबिनबाट प्राप्त कारण विश्लेषण गरी सुधारात्मक उपायको अवलम्बन एवं गल्ती गर्नेहरुलाई कारबाही गरिने जानकारी गराइन्छ।’
निगमले मलेसियाको क्लावालाम्पुरमा समयमै उडान अनुमतिपत्र नवीकरण नगर्दा चार्टर्ड उडानको सहारा लिनु परेको थियो। निगमले नियमित उडानको अनुमति पाइसकेको अवस्थामा अपरेसन विभाग र मलेसिया स्टेसनको कमी–कमजोरीका कारण त्यस्तो भएको स्वीकार गरेको छ।
निगमले पदाधिकारीलाई कारबाही गरेको जानकारी पनि दिएको छ। पाइलट बिरामी भएपछि काठमाडौं–दुबई उडान ११ घण्टा डिले भएको थियो। सो घटनामा अपरेसन विभागका निर्देशकलाई स्पष्टीकरण सोधिएको निगमले जनाइएको छ। निगमका कार्यकारी अध्यक्षसमेत नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम नमानेको कसुरमा कारबाहीमा परेका छन्।
निगमका बेथितिप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समेत असन्तुष्टी व्यक्त गरेका थिए।











