Kathmandu Press

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौं, चैत २२ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच आज (बुधबार) शिष्टाचार भेट भएको छ। भेटका लागि राजदूत थम्पसन गृह मन्त्रालय पुगेका थिए। 

भेटमा शान्ति प्रक्रिया र नेपालको राजनीतिक स्थिरताबारे राजदूत थम्पसनले चासो राखेको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

सचिवालयका भेटमा थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा त्यसका लागि पहल लिन आफू तयार रहेको बताए। 

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न केन्द्रित रहेको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि संसदमा विधेयक पेस भइसकेको जानकारी पनि गराए।

श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए।

राजदूत थम्पसनले अमेरिकी सहयोग संस्था ‘पिसकोर’मा संलग्न भएहरुको भिसा सहजताका लागि आग्रह गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने बताएका थिए।

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्