सिक्किममा हिमपरिहरो, ३ नेपालीसहित ७ जनाको मृत्यु
गान्तोक जिल्लाका कलेक्टरले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ छन्।
काठमाडौं, चैत २२ : सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा गएको छ। मंगलबार दिउँसो गएको हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।
सो हिमपहिरोमा एक दर्जन बढी मानिस घाइते भएको बताइएको छ।
गान्तोक जिल्लाका कलेक्टरले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ छन्।
यस्तै, ४० वर्षीया गिता सापकोटा, ३८ वर्षीया ज्योती गुरुङ र ४३ वर्षीय रमेश खनाल पनि घाइते भएका छन्। विज्ञिप्तमा उनीहरुको ठेगाना ‘नेपाल’ मात्र लेखिएको छ।
हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ। ती मध्ये १४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले जनाएको छ।