गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपील

काठमाडौं, चैत २१ : बैशाख १० गते हुने उपनिर्वाचनमा साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध प्रमुख दलले संयुक्त अपील गरेका छन् । सत्ता सझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रूपमा अपील गरेका हुन् ।
गठबन्धनका तर्फबाट तनहुँ– १ मा गोविन्द भट्टराई, चितवन– २ मा जीत नारायण श्रेष्ठ र बारा– २ मा उपेन्द्र यादवलाई विजयी गराउन सम्बद्ध जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिइएको छ । संयुक्त खपीलमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था–संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’











