Kathmandu Press

बारा-२ मा यसअघिका पराजितहरूको ‘घमासान’, यस्तो छ अंकगणित  

संसद छिर्ने दाउमा रहेका उपेन्द्रलाई कति सहज?
बारा-२ मा यसअघिका पराजितहरूको ‘घमासान’, यस्तो छ अंकगणित  

काठमाडौं, चैत २१ : बारा– २ मा गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित चर्चित अनुहारबीच रस्साकस्सी हुने देखिएको छ । बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्र रिक्त थियो।

बारा–२ को प्रतिनिधि सभा सदस्यका लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ जना राजनीतिक दल र २४ जना स्वतन्त्र उम्मेदवार छन्।

मंसिर ४ को चुनावमा सप्तरी– २ बाट जनमत पार्टीका डा.सिके राउतसँग पराजित जसपा अध्यक्ष उपेन्द्र यादव सत्ता गठवन्धन दलमा रहेका नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा उम्मेदवारी दर्ता को समर्थनमा बारा–२ बाट प्रतिस्पर्धा गर्दै छन्। 

Hardik ivf

यता जनमत पार्टीले पनि यसअघि पराजित उम्मेदवार नै प्रतिस्पर्धामा छन् । जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ। कुशवाहा उप निर्वाचनको मुखमा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी हालका उपराष्ट्रपति यादवसँग प्रतिस्पर्धामा पराजित भएका थिए। 

यसैगरी मंसिर ४ को निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार भएका पूर्व डिआइजी रमेश खरेल पनि यही क्षेत्रबाट भिडेका छन्। गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार रहेका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्।

यस्तै गत निर्वाचनमा बारा–२ बाट स्वतन्त्र निर्वाचन लडेर लोकप्रिय मत ल्याएका अरुण ज्ञवाली यसपल्ट प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार छन्। उनले गत निर्वाचनमा ७ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । यता बारा– ३ बाट लोकप्रिय मत ल्याएर पराजित भएका अर्का चन्द्रप्रकाश सुवेदी पनि हाम्रो नेपाली पार्टीबाट यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । उनले गत निर्वाचनमा ६ सय ७२ मत प्राप्त गरेका थिए।

२०७० सालमा बारा– ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पुरुषोत्तम पौडेलले  एमालेको तर्फबाट नौ बर्षपछि उम्मेदवार छन् । उनी पूर्व युवा तथा खेलकुद मन्त्री समेत हुन् । यता राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या दोब्बर देखिएको छ । १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा २४ जना स्वतन्त्र उम्मेदवार बनेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बारा– २ मा १ लाख ५ हजार २ सय ९८ मतदाता छन् । जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको उक्त निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ।

यस्ताे छ अंकगणित

सप्तरी–२ बाट चुनाव हारेलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादव केन्द्रमा बन्ने सत्ता समिकरणको फाइदा उठाउँदै पुनः संसद छिर्ने योजनामा थिए। कांग्रेस, माओवादीसहितको १० दलीय गठबन्धनमा आवद्ध भएर यादवले आफ्नो संसद यात्राको ढोका खुलाउन सफल भए।

प्रतिनिधि सभामा १२ सिट भएको जसपाले सरकार गठनमा माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको बदलामा उपराष्ट्रपति पायो। उपेन्द्रले बारा–२ बाट विजयी भएका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउँदै आफ्ना लागि संसद छिर्ने बाटो निर्माण गर्न सफल भए।

उपनिर्वाचनमा सत्ता गठबन्धनका ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थन पाएपछि उपेन्द्र अझै ढुक्क भएका छन्।

अघिल्लो निर्वाचनको परिणाम हेर्दा पनि उपेन्द्रलाई ढुक्क हुने आधार छन्। तर, परिवर्तित राजनीतिक परिवेशले उनलाई त्यति ढुक्क हुने छुट पनि दिएको छैन।

उपेन्द्रलाई हराउनकै निम्ति जनमत पार्टीका अध्यक्ष सिके राउत केही दिनदेखि बारामै छन्। उपेन्द्रले मधेशको मुद्दा बोक्न छाडेको र जनताको म्यान्डेडलाई सत्ता चढ्ने भर्याङमात्रै बनाएको भन्दै उपेन्द्रको विरूद्धमा प्रचार गरिरहेका छन्।

मधेशवादी दलहरू उपेन्द्रको विरूद्ध रहेकाले यसपालि उनलाई केही गाह्रो बनाउन भने सक्नेछन्। छोटो अवधिमै चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डिआइजी रमेश खरेललाई उम्मेदवार बनाएपछि त्यहाँको चुनावी माहोल केही बदलिएको आकलन गरिएको छ। 

पार्टीगत रूपमा बारा–२ मा जसपा सबैभन्दा ठूलो पार्टी हो। मंसिर ४ को निर्वाचनमा जसपाले १३ हजार २४२ समानुपातिक मत पाएको थियो। 

११ हजार १७९ मतसहित नेपाली कांग्रेस दोस्रो ठूलो दल हो। त्यस्तै एमालेको ९ हजार १९३ मत छ भने लोकतान्त्रिक समाजवादी पार्टीले ४ हजार २३२ मत ल्याएको थियो। 

यहाँ माओवादी केन्द्र नागरिक उन्मुक्ति भन्दा पनि सानो दलका रुपमा छ। उन्मुक्तिले  ३ हजार ७९४ समानुपातिक मत ल्याउँदा  माओवादी केन्द्रको ३ हजार २६५ मत छ। संघीय समाजवादी पार्टीले २ हजार ३६६ समानुपातिक मत ल्याएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ४५५ मत ल्याएको थियो। 

यसरी हेर्दा कांग्रेस र माओवादीको समर्थन रहँदा उपेन्द्र यादवको बलियो अवस्थामा छन्। राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले पनि जसपालाई नै समर्थन गरेपछि उपेन्द्रको पक्षमा ३३ हजारभन्दा बढी मत आउने देखिन्छ।

तर पछिल्लो समय मधेशमा जनमत पार्टीको बढ्दो लोकप्रियता र रास्वपा उनका लागि चुनौती हुनसक्छन्।  

 

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्