उपराष्ट्रपति यादवले भने– धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ
नेपाल जैन परिषद्ले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने बताए।
काठमाडौं, चैत २१ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन्।
नेपाल जैन परिषद्ले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति यादवले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने बताए। उनले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्व अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरे।
‘धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ,’ उपराष्ट्रपति यादवले भने, ‘धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ।’
उनले अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान महावीरले प्रतिपादित गरेको सिद्धान्त र विचार वर्तमानमा अझ बढी सान्दिर्भिक भएको उल्लेख गरे।
उपराष्ट्रपति यादवले नेपाल आफैँमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए।











