Kathmandu Press

हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल

‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नुभएन। पूँजीवादी साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिष्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे।’
हामी अहिले पनि प्रहारको निशानामै छौं : महासचिव पोखरेल

काठमाडौं, साउन ९ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्रतामा हेरेर समीक्षा गर्नुपर्ने बताएका छन् ।

नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले आलोचनाबाट आफूहरू कहाँ सुधार गर्नुपर्ने हो भन्ने कुरा थाहा हुने बताए ।

उनले एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै भने, ‘हाम्रा मित्रहरूले हामीलाई कम्युनिष्ट देख्नुभएन। पूँजीवादी साम्राज्यवादीहरूले भने हामीलाई धेरै कम्युनिष्ट ठानेर भदौ २३ र २४ गते सडकमा पछार्ने काम गरे।’

पोखरेलले आफूहरू एक पक्षका लागि कम्युनिष्ट हुन नसकेको र अर्को पक्षका लागि कम्युनिष्ट भएकै कारण पीडित भएको टिप्पणी गरे। उनले कमजोरीबाट कोही पनि मुक्त नरहेको भन्दै एमालेभित्र कमजोरी भएपनि सफलताका सबल पक्षहरू रहेको दाबी गरे।

‘मूल्यांकन गर्ने विषय आफैंबीचको विषय हो । सबै चिजलाई समग्रतामा हेर्नुपर्छ, कमजोरीबाट मुक्त कोही पनि छैनन् । हामीभित्र पनि कमजोरी छन्, तर हामीभित्र पनि सफलताका सबल पक्षहरु पनि छन् त्यसैको मार खेपिराखेका छौं । केही हुँदैन थियो भने शत्रुहरु पनि हुँदैन थिए होला,’ पोखरेलले भने ।

महासचिव पोखरेलले एमाले अहिले पनि प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यमाथि चुनौती खडा गर्ने प्रयास भइरहेको बताए ।

‘हामी अहिले पनि प्रहारको निशानामै छौं, प्रहार भइरहेकै छ । यस्तो अवस्थामा पुगेका छौं कि हाम्रो अस्तित्वमाथि र भविष्यमाथि नै चुनौती खडा गर्ने काम भइरहेको छ,’ उनले भने ।

उनले पूँजीवादी र साम्राज्यवादी शक्तिका लागि आफूहरू समस्या नभए प्रहार किन भइरहेको छ भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, साउन ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्