दलहरुबीच सहकार्य र हार्दिकता आवश्यक : महामन्त्री शर्मा

चितवन, चैत २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूबीच सहकार्य र हार्दिकताको आवश्यकता रहेको बताएका छन। गठबन्धनको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन आज चितवन आएका शर्माले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै दलहरू बीच द्वन्द्व हुन नहुने बताए ।
देशभित्र अवसरको खोजी गरिरहेका नागरिकलाई सोको सिर्जना गर्नका लागि बदलिएको राजनीतिको विषय बन्नुपर्ने उनको भनाइ छ । उनले भने, 'आज दलहरू बीचमा द्वन्द्व होइन सहकार्य र हार्दिकता अहिलेको राजनीतिको चित्र हो ।' आलोचना गर्ने राजनीति नभई बदलिएको राजनीति अहिलेका युवाको रोजाइ भएको उनले बताए । राजनीति गर्ने युवाले आकर्षित बन्नुपर्ने अहिलेको विषयवस्तु भएको उनको जिकिर थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले पार्टीभित्र असन्तुष्टि राख्नेलाई घर फर्कन आग्रह गरे । पार्टीभित्रका असन्तुष्टिलाई समाधान गर्नका लागि आन्तरिक छलफल गर्न सकिने उनले बताए । उनले भने, 'घर छोडेर गएका आफ्नै घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध गर्दछु' उनले थपे, 'हामीले उता पर्म लाएको हो । अब फर्कन्छौँ भन्ने कार्यकर्ता पनि पाएको छु ।' घरघरमा बसेर सोच्न र बिउँझनका लागि कार्यकर्तालाई उनले अनुरोध गरे ।
वैशाख १० गते चितवन–२ को परिणाम बदलिने महामन्त्री शर्माको भनाइ थियो । उनले भने, 'यो पटक वैशाख १० गते परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्म लाएका थियौँ । हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।'
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीभित्रको आन्तरिक कलहलाई आम निर्वाचनमा साँध्न नहुने बताइन । कांग्रेस बलियो भए लोकतन्त्र बलियो हुने भन्दै उनले उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारले जित निकाल्नुपर्ने बताइन ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुर ढकाल, गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्ण न्यौपानेलगायतले बोलेका थिए।











