Kathmandu Press

‘बिजुलीको आन्तरिक खपत बढाउनु नै मुख्य प्राथमिकता’

‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात गर्नुपर्छ।’
‘बिजुलीको आन्तरिक खपत बढाउनु नै मुख्य प्राथमिकता’

काठमाडौं, चैत २० : नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् स्वदेशमा खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

नेपाल विद्युत प्राधिकरणले गरेको बधाइ, शुभकामना तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताए।

‘विद्युत्को आन्तरिक खपत क्षमता वृद्धि गरी बढी भएको विद्युत्को व्यवस्थापन गर्नुपर्छ, देशभित्र खपत गरी बढी भएको विद्युत् त्यसै खेर फाल्न त मिलेन ? त्यसलाई निर्यात गर्नुपर्छ,’ मन्त्री बस्नेतले भने।

उनले पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय गर्ने पनि बताए।

जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएका समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताकासाथ लाग्ने बताए।

उनले सार्वजनिक संस्थामध्ये प्राधिकरणले देशमा सकारात्मक मानक स्थापना गरेको बताए। मन्त्री बस्नेतले स्थापित सकारात्मक मानकलाई अभिवृद्धिका लागि थप भूमिका निर्वाह गर्न जवाफदेही बन्न र नयाँ सम्भावनालाई उद्घाटित् गर्दै अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए।

 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्