Kathmandu Press

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका छाता संगठनसँग छलफल गरेका अर्थमन्त्री महतले सोमबार नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरे।
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

काठमाडौं, चैत २० : नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग संवाद थालेका छन्।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी क्षेत्रका छाता संगठनसँग छलफल गरेका अर्थमन्त्री महतले सोमबार नेपाल बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गरे।

विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाएका छन्।

‘हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको मसस्याका कारण पूँजीबजार घटेको हो भन्ने हाम्रो बुझाइ छ। नेपालको पूँजीबजारमा ठूलो सङ्ख्यामा लगानीकर्ता जोडीएकाले उनीहरुको मनोविज्ञान बुझिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छौं,’ अर्थमन्त्रीसँगको भेटबारे पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने।

अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएको उनले बताए ।

नेपाल बैंकर्स संघसँगको छलफलका क्रममा पनि अर्थमन्त्री महतले यो प्रतिबद्धता दोहो¥याए । ‘नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याका बारे छलफल भएको छ। छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिनुभएको छ,’ अर्थमन्त्रीको सचिवालयले भनेको छ।

फोरम र बैंकर्स संघसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशनसमेत दिएका छन्।

 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, चैत २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्