Kathmandu Press

मेलम्ची आयोजनाको सुरूङ फिनिसिङमा फाइनल टच, हेडवक्र्सको काम सुरू

काठमाडौं, माघ ८ : मेलम्ची खानेपानी आयोजनाको सुरूङ फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । सुरूङमार्गको सिन्धु अडिटमा भुँइ ढलान बाहेक फिनिसिङको काम अन्ति....

मेलम्ची आयोजनाको सुरूङ फिनिसिङमा फाइनल टच, हेडवक्र्सको काम सुरू

काठमाडौं, माघ ८ : मेलम्ची खानेपानी आयोजनाको सुरूङ फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । सुरूङमार्गको सिन्धु अडिटमा भुँइ ढलान बाहेक फिनिसिङको काम अन्तिम चरणमा पुगेको हो। 

मेलम्ची विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार केही दिन भित्रै सुरूङ फिनिसिङको काम सम्पन्न हुनेछ । ‘सिन्धु अडिटमा भुइँ ढलानको थोरै काम बाँकी छ । त्यो बाहेक फिनिसिङको काम लगभग सकिएको छ,’ पन्तले काठमाडौं प्रेससँग भने, ‘केही दिनभित्रै फिनिसिङको काम सम्पन्न हुनेछ।’

 गत असोज अन्तिम साताबाट चिनियाँ कम्पनी सिनो हाइड्रोले मेलम्चीको बाँकी काम थालेको थियो । काम थालेको तीन महिनामै सिनो हाइड्रोले सुरूङको काम अन्तिम चरणमा पुर्‍याएको हो। अब सुरूङमा भेन्टिलेसन सार्फ निर्माण र गेट जडानको काम मात्रै बाँकी छ । यस्तै सुन्दरीजलस्थित सुरूङ मार्ग र प्रशोधन केन्द्रबीचको (आउटलेट) मा पाइपलाइन जडान र सेन्सर (सुरूङ भित्रको गतिविधिको निगरानी गर्ने यन्त्र) जडानको काम बाँकी रहेको पन्तले जानकारी दिए । सेन्सर जडानका टेन्डर समेत भइसकेको छ।

खोला डाइभर्ट गरियो  

आयोजनाको मुहानमा हेडवक्र्स निर्माणका लागि खोला डाइभर्ट गर्ने काम समेत सकिएको छ । जनवरी १३ मा डाइभर्सन ट्रनेल मार्फत खोला डाइभर्ट गरिएको पन्तले जानकारी दिए । ‘अब ड्याम बनाउने काम अघि बढेको छ । अस्थाइ र स्थायी दुवै ड्याम निर्माणको काम एकै साथ हुनेछ,’ उनले भने। 

सरकारले चालु आर्थिक बर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रम मार्फत गरेको थियो । सरकारको सोही घोषणा अनुसार असार अन्तिममा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम भइरहेको समितिले जनाएको छ।


 

प्रकाशित मिति: ०६:०७ बजे, बुधबार, माघ ८, २०७६