प्रचण्ड क्याबिनेटमा मन्त्री बनिसकेका रविले अब ‘नो नट अगेन’ भन्न सक्दैनन् : विश्वप्रकाश शर्मा
महामन्त्री शर्माले चितवनलाई आवेगको भरमा मतदान गर्ने छुट नभएको पनि बताए। जनताले आत्मसमीक्षा गरेर विवेक प्रयोग नगरे देशका लागि दुर्भाग्य हुने उनको भनाइ थियो।
चितवन, चैत २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन २ को परिणाम बदलिने विश्वास व्यक्त गरेका छन्।
सो क्षेत्रमा पार्टीका तर्फबाट आज (सोमबार) जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ताअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक परिणाम बदलिन्छ । किनभने हामी १८ हजारभन्दा बढि मानिसले उता पर्मा लाएका थियौं। हामी फिर्ता भएर आइसक्दै गर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ।’
महामन्त्री शर्माले चितवनलाई आवेगको भरमा मतदान गर्ने छुट नभएको पनि बताए। जनताले आत्मसमीक्षा गरेर विवेक प्रयोग नगरे देशका लागि दुर्भाग्य हुने उनको भनाइ थियो।
‘आवेगको भरमा मत दिने छुट चितवनलाई अब छैन,’ उनले भने, 'चितवनले पनि विवेक प्रयोग गर्दैन र गम्भीर समीक्षा गर्दैन भने यो देशका लागि दुर्भाग्य हुन्छ।’
उनले नो नट अगेनको नारा लिएर चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रचण्डको क्याबिनेटको मन्त्री बनेर जनतालाई धोका दिएको उनले बताए। रविले याे उपनिर्वाचनमा नो नट अगेन भन्नै नसक्ने उनकाे भनाइ थियाे।











