Kathmandu Press

शून्य समय : किसानका समस्यादेखि सुराकी खर्चसम्मका विषय

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बाेल्दै उनीहरूले किसानका समस्यादेखि सुराकी खर्चसम्मका विषयमा विभिन्न माग राखेका छन्। 
शून्य समय : किसानका समस्यादेखि सुराकी खर्चसम्मका विषय

काठमाडाैं, चैत १९ : प्रतिनिधिसभाका सदस्यहरूले विभिन्न विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बाेल्दै उनीहरूले किसानका समस्यादेखि सुराकी खर्चसम्मका विषयमा विभिन्न माग राखेका छन्। 

सांसद दामोदर पौडेल वैरागीले स्थगित भएको स्ववियु निर्वाचन सम्पन्न गर्ने क्रममा भएको झडपप्रति सरकारको ध्यानाकर्षण गराउँदै निर्धारित समय मै निर्वाचन सम्पन्न गराउन माग गरे।

सांसद दिक्पालकुमार शाहीले दैलेखमा बाढीपहिरो पीडित जनताको अझै पुनःस्थापना हुन नसकेको जानकारी गराउँदै समस्या दिगोरूपमा समाधान गराउन माग गरे। सांसद दिनेशकुमार यादवले कोशी पश्चिम नहरको मर्मत भारतको भए पनि त्यहाँको बाटो जीर्ण भएकाले स्थानीय जनताले दैनिक कष्टकररूपमा यात्रा गर्नुपरेको छ भन्दै मर्मतका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरे।  

सांसद दीपकबहादुर सिंहले किसानले मल र बीउ समयमै पाउन नसकेको गुनासो गर्दै त्यस विषयमा सरकारले अभियान नै बनाएर काम गर्नुपर्ने सुझाव दिए। सांसद दुर्गा राईले किराती समुदायले आफ्नो संस्कारअनुसार काठमाडौँ उपत्यकामा जमिनमा समाधि गर्न नपाएकाले विगतमा भएको सहमति कार्यान्वयन गराउन आग्रह गरे। 

सांसद देवेन्द्र पौडेलले आर्थिक सुधार हुनेगरी जनतालाई भरोसा  दिन साझा स्वेतपत्र जारी गर्न माग गरे।  सांसद धनराज गुरुङले सिदार्थ राजमार्गको महत्व मनन गरी स्तरोन्नति गर्न माग गरे। सांसद ध्रुवबहादुर प्रधानले सुस्तावासीले सधैँ नारायणी नदीको जोखिम लिएर बस्नुपरेकाले चाँडै जनताको आवास निर्माण  गर्न आग्रह गरे।

सांसद नागिना यादवले विकासका योजना बनाएर  लगानी गर्दा र जनगणनाका विविध आयामलाई समेटिए कार्यान्वयनमा सहजता हुने बताइन्। सांसद निशा राईले मुलुकमा आयात बढ्दै गएकाले  आन्तरिक उत्पादन बढउन सरकारको के नीति छ भनी प्रश्न गरिन्।  सांसद नैनकला थापाले महिलाको सहभागिता सुनिश्चित गर्न कानूनमा स्पष्ट व्यवस्था हुनुपर्ने माग गरिन्। 

सांसद पद्म गिरीले सडक स्तरोन्नतिका लागि योजनाबद्धरूपमा आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद पुष्पबहादुर शाहले तत्कालीन माओवादीसंगको द्वन्द्वमा ठूलो क्षति भएको मङ्गलसेनको दरबार १५ वर्षसम्म पनि निर्माण हुन सकेन भन्दै तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।

यसैगरी सांसद प्रदीप पौडेलले हवाई क्षेत्रमा त्रुटी बढेकाले उच्च प्राथमिकतामा राखी यस क्षेत्रमा काम गर्न सुझाव दिए। सांसद प्रेम सुवालले गृहमन्त्री  र सचिवले सुराकी खर्चका नाममा लिँदै आएको रकम पारदर्शी गराउन सरकारको ध्यानाकर्षण गराए। सांसद बद्री पाण्डेले विपत्ति र दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न समयमै सचेत भएर काम गर्न आग्रह गरे। सांसद वासुदेव घिमिरेले भूमि आयोगले भूमिहीनलाई प्रदान गर्ने लालपुर्जा सहज गराउन माग गरे।

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्