मिटरब्याजीपीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उनीहरूले जोड दिए।
काठमाडाैं, चैत १९ : प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उनीहरूले जोड दिए।
सांसद दीलेन्द्रप्रसाद बडूले मिटरब्याजी पीडितको समस्या समाधानका लागि कानून छिटो तर्जुमा गर्न माग गरे। सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजी पीडितलाई न्याय दिन यसअघि भएको व्यवस्था कार्यान्वयन नहुँदा न्याय प्रदान गर्न ढिलाइ भएको बताए। सांसद तेजुलाल चौधरीले मिटरब्याजीसँग भएको सहमति कार्यान्वयन गर्न र वित्तीय संस्थामा सर्वसाधारणको पहँच बढाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए। मिटरब्याजीले न्याय किहले पाउँछ? उनीहरूको जग्गा कहिले फिर्ता हुन्छ? मिटरब्याजीका नाममा बार्गेनिङ गर्ने बेला प्रहरी प्रशासनले दलाली किन रोक्दैन?’ उनले प्रश्न गरे
कांग्रेसका सांसद रामहरि खतिवडाले गाउँमा साहुकारसँग ऋण लिएर तिर्न नसकी काठमाडौं आउनेहरू मात्रै मिटरब्याजपीडित नभएको बताए। उनले आफ्नै गाउँको एक उदाहरण पनि दिँदै प्रश्न गरे, ‘मेरो गाउँको एउटा किसानले बैंकबाट ३० हजार ऋण लिएको थियो। पाँच वर्षमा १० लाख पुगेछ। ३० हजारको १० लाख लिनु मिटरब्याज हो कि होइन?’ जथाभाबी ब्याज लिने काम रोकिने गरी सरकारले कानुन बनाउनुपर्नेमा उनले जो्ड दिए।
अर्का सांसद अमरेशकुमार सिंहले मिटरब्याजको स्पष्ट परिभाषा गरिनुपर्ने बताए। उनले प्रश्न गरे, ‘मिटरब्याज केलाई भन्ने? मिलिमिटर केलाई भन्ने? सेन्टिमिटर केलाई भन्ने?’ सहकारीले वार्षिक २४ प्रतिशत ब्याज लिने, गाउँघरमा १८ प्रतिशत ब्याजदर लिने अवस्था पनि रहेको हुँदा सरकारले बनाएको आयोगले यी सबै समस्याको समाधान दिन सक्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस सांसद सञ्जय गौतमले समाजमा वैधानिक मिटरब्याजी पनि रहेको बताए। लघुवित्तहरूले पनि गाउँसमाजमा चर्को ब्याज लिएर किसानलाई त्रसित बनाएको उनले बताए। मिटरब्याजीहरू तीनथरी रहेको बताउँदै उनले भने, ‘एकथरी सडकमै आइसकेका छन्। एकथरीको मुद्दा चलिरहेको छ। र, एकथरी पीडित बन्ने क्रममा रहेका छन्।’ मिटरब्याज पीडितको समस्या समाधान गर्ने अधिकारसहित बनेको जाँचबुझ आयोगले यी सबै कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।











