मिटरब्याजपीडितको समस्या स्थायी रुपमै समाधान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
आयोगले फिल्डमै खटिएर उजुरी लिने, छानबिन गर्ने, ठिकबेठिक छुट्याउने र आवश्यक कारबाहीका लागि सिफारिस गर्ने अधिकार राख्ने उनको भनाइ थियो।
काठमाडौं, चैत १९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या स्थायी रुपमै समाधान गर्न सरकारले काम गरिरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा उनले मिटरब्याज पीडितसँग समग्र समस्या समाधान गर्ने गरी सहमति गरिएको र उनीहरू पनि सन्तुष्ट रहेको उनले बताए।
मिटरब्याजलाई आर्थिक कसुर मानेर कारबाहीका लागि कानुन संशोधन गर्ने र मिटरब्याज पीडितको समस्या स्थायी रुपमा समाधान गर्ने अधिकारसहित जाँचबुझ आयोग गठन गरिएको बताए। ‘जाँचबुझ आयोग ऐनअन्तर्गत आयोग गठन गर्ने प्रस्ताव गरिसकेका छौं,’ उनले भने, ‘अब बस्ने मन्त्रिपरिषदले त्यसबारे निर्णय गर्नेछ।’
आयोगले फिल्डमै खटिएर उजुरी लिने, छानबिन गर्ने, ठिकबेठिक छुट्याउने र आवश्यक कारबाहीका लागि सिफारिस गर्ने अधिकार राख्ने उनको भनाइ थियो। त्यसका लागि जिल्लामा सबै पक्षको सहभागितामा समन्वय संयन्त्र बनाउने उनले बताए।











