लाइन्सकाे फाइन आर्टद्वारा ठमेलमा चित्रकला प्रदर्शनी
चाक्सीबारीस्थित होटेल आर्टस ठमेलमा सञ्चालन भइरहेकाे प्रदर्शनी यही चैत २३ गतेसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली दृश्य कला, मुहार चित्र, अमूर्त कलालगायत कलाकृति समावेश गरिएकाे आयोजकले बताएको छ।
काठमाडौं, चैत १८ : लाइन्स क्लब अफ फाइन आर्ट काठमाडौंको तेस्रो वार्षिक कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी शुक्रबार सुरु भएको छ।
चाक्सीबारीस्थित होटेल आर्टस ठमेलमा सञ्चालन भइरहेकाे प्रदर्शनी यही चैत २३ गतेसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली दृश्य कला, मुहार चित्र, अमूर्त कलालगायत कलाकृति समावेश गरिएकाे आयोजकले बताएको छ।

प्रदर्शनीकाे उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली कला विकासमा संलगन कलाकारलाई प्रतिष्ठानको सधैं साथ र सहयोग रहने विश्वास दिलाए। उनले देशविदेशमा नेपाली कलालाई विस्तार गर्ने लक्ष्य प्रतिष्ठानले लिएको बताए।

कलाकार किरण सिगुको संयोजकत्व र काठमाडौं लाइन्सका अध्यक्ष चिरञ्जीवी भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा ललितकला प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, चित्रकला विभाग प्रमुख सन्जय बान्तवा, प्रज्ञा परिषद सदस्य सौरगंगा दर्शनधारी, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, नेमबहादुर गोले, एनबी गुरुङ, डिराम पाल्पालीको उपस्थिति थियो।

प्रदर्शनीमा अर्जुन देशार, सुरेम देशार, राजेश मान्नधर, सुष्मा श्रेष्ठ, राज महर्जन, जनक अधिकारी, धनु याक्ख, लक्ष्मी मास्के, ज्योति खड्का, श्रेया श्रेष्ठलगायत ५० कलाकारको चित्रकला समावेश गरिएको प्रदर्शनीमा एक विदेशी कलाकारको मूर्ति पनि राखिएको छ।














