‘सोचविचार गरेरै मुलुकको सुरक्षाको जिम्मा लिएको रक्षा मन्त्रालय रोजेको हुँ’
अर्थ मन्त्रालयमा सभापतिबाट प्रकाशशरण महतलाई अगाडि सार्ने निर्णय भएको, आफूले पनि त्यसमा सहमति जनाएको बताउँदै उनले भने, ‘प्रकाशजी, मेरो र सभापतिका बीचमा कुनै यो त्यो मन्त्रालय भनेर कुनै विमति छैन।’
काठमाडाैं, चैत १८ : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएर काम गर्न रक्षा मन्त्रालय रोजेका बताएका छन्।
शपथ खाएको भोलिपल्ट शनिबार ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई (किशुनजी) को आश्रममा पुगेका उनल सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापलि शेरबहादुर देउवाले गृह र अर्थ मन्त्रालय टुंगो लागेको र बाँकी १९ मन्त्रालयमध्येबाट आफूलाई एउटा रोज्न लगाएपछि रक्षा नै रोजेको बताए। आफूले अध्ययन गरेर, सोचविचार गरेर रक्षा मन्त्रालय रोजेको उनको भनाइ थियो।
‘प्रधानमन्त्री र सभापतिले भन्नुचएपछि मैले १९ वटै मन्त्रालयको अध्ययन गरें। मुलुक र सुरक्षाको सन्दर्भमा, नेपालको सामरिक भूमिको महत्व बढ्दै गएको सन्दर्भमा मैले मुलुकको सुरक्षा, राष्ट्र नीतिको निर्माण, कार्यनीत–रणनीतिको निर्माण र नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएको रक्षा मन्त्रालय रोजें,’ उनले भने, ‘समग्रमा सबैभन्दा जिम्मेवार, सबैभन्दा ठुलो मन्त्रालय मैले रक्षा नै देखेँ। त्यसपछि मैले रक्षामन्त्री बन्छु भनेंं।’
अर्थ मन्त्रालयमा सभापतिबाट प्रकाशशरण महतलाई अगाडि सार्ने निर्णय भएको, आफूले पनि त्यसमा सहमति जनाएको बताउँदै उनले भने, ‘प्रकाशजी, मेरो र सभापतिका बीचमा कुनै यो त्यो मन्त्रालय भनेर कुनै विमति छैन।’











