कार्यभार समाल्दै मन्त्री खड्काले भने- सबैलाई सम्मान र विश्वासको परिस्थिति निर्माण गर्नेछु
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै खड्काले यस्तो भनाइ राखेका हुन्।
काठमाडौं, चैत १७ : नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने भनाइ राखेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै खड्काले यस्तो भनाइ राखेका हुन्। उनले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएको बताउँदै सबै पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए।
खड्काले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उपप्रधानमन्त्री खड्काले न्यूनतम साझा कार्यक्रम केही दिनमै ल्याउने पनि बताए।
‘न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरू, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरू अघि सार्ने छौं,’ कार्यभार समाल्नेक्रममा उनले भने।
खड्काले आफ्ना कामहरू अघि बढाउनेक्रममा प्रधानमन्त्रीको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेर अघि बढ्ने भनाई पनि राखे।
‘सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ,’ उनले भने। यसैबीच खड्काले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भइसकेको जानकारी समेत दिएका छन्।











