Kathmandu Press

पहिलो दिनको एसइई शान्तिपूर्ण

पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।
पहिलो दिनको एसइई शान्तिपूर्ण
भक्तपुरको आदर्श मावि सानो ठिमी परीक्षा केन्द्रमा गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयका ६० वर्षभन्दा माथिका महिला परीक्षार्थी र अन्य विद्यार्थी। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, चैत १७ : आज बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ। प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उनले जानकारी दिए। यस वर्ष परीक्षामा नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा एक किरियापुत्रीले परीक्षा दिएका छन्। जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिएका हुन्।

यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन्। उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो।

त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ।  यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन्। त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन्।

देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन्। यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ। परीक्षा चैत २९ गते सम्पन्न हुनेछ।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्