Kathmandu Press

मन्त्रिपरिषद् विस्तारपछि सरकारको कामले गति लिन्छ : प्रधानमन्त्री

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन्।
मन्त्रिपरिषद् विस्तारपछि सरकारको कामले गति लिन्छ : प्रधानमन्त्री

काठमाडौं, चैत १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन्।

प्रधानमन्त्रीले भने, 'आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु।'

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे। जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरे।

कर्मचारीको ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए। कर्मचारीतन्त्रमा रहेको बेथिती र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरे।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे। उनले भने, 'समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ। नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन। स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन। लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो।'

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रुप दिइएको जानकारी दिए। उनले तयार भएको विधेयकलाई सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको बताए।

उनले आफू सामान्य प्रशासनमन्त्री भएर आएपछि कोहीकसैलाई पनि काखा र पाखा नगरेको, बरण्डामा भएका कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गरे। तल्ला तहका कर्मचारीले ट्रेड युनियन गतिविधि गर्न पाए पनि उपसचिव र सहसचिवले भने राजनीति गर्न नमिल्ने उनको भनाइ छ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले जनताका पक्षमा इमान्दार भएर काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरे। उनले कर्मचारीले प्रभावकारी काम गर्दा सरकारको समेत साख रहने भन्दै पार्टी सधैँ कर्मचारीका पक्षमा रहेको बताए। 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्