किन त्यागे बेलायती राजकुमार ह्यारी र मेगनले शाही पदवी
राजकुमार ह्यारी र पत्नि मेगनले शाही पदवी त्याग्ने भएका छन्। बकिङ्घम राजदरबारको घोषणा अनुसार उनीहरूले सरकारी धन पनि नपाउने भएका छन्। अब उनीहरू सर्वसाधारणझैं काम गर्नेछन....
राजकुमार ह्यारी र पत्नि मेगनले शाही पदवी त्याग्ने भएका छन्। बकिङ्घम राजदरबारको घोषणा अनुसार उनीहरूले सरकारी धन पनि नपाउने भएका छन्। अब उनीहरू सर्वसाधारणझैं काम गर्नेछन्।
ह्यारी र मेगन सञ्चार माध्यमको नजरबाट खुशी थिएनन्। राजदरबारले जनाए अनुसार सन् २०२० को मार्चदेखि उनीहरू सर्वसाधारण हुने भएका हुन्। तर दश दिन अघि मात्रै निजी कामसँगै शाही जिम्मेवारी पनि पूरा गर्ने प्रगतिशिल योजना बनाएको उनीहरूले बताएका थिए। अब त्यो योजना पनि फेरिएको छ।
अब उनीहरूले राजकुमार र राजकुमारी पद प्रयोग नगरि राख्ने भएका छन्। यसबाट उनीहरूको विचार परिवर्तन भए भविष्यमा फेरि शाही पदवी लिएर फर्किने सम्भावना बाँकी रहेको सङ्केत हुन्छ।
ह्यारीकी आमा डायनाको शाही पदवी राजकुमार चार्ल्ससँग सम्बन्ध विच्छेद भएपछि खोसिएको थियो। अबदेखि ह्यारीलाई ससेक्सका ड्युक र मेगनलाई ससेक्सकी डचेस भनिनेछ। ह्यारी राजकुमार नै रहनेछन्। बेलायतको राजगद्दीको उनी छैठौं उत्तराधिकारी हुन्। नयाँ सम्झौता अनुसार मेगन र ह्यारीले विन्डसोर महल नजिकै एउटा घर जीर्णोद्धार गर्नलाई खर्च गरिएको २४ लाख पाउण्ड फिर्ता गर्नुपर्नेछ।
घरको पाँचवटा भिन्दाभिन्दै अपार्टमेन्टलाई एकल परिवारका लागि घर बनाउन सरकारी खर्च गरेको घटनाले बेलायती प्रेसमा चर्चा पाएको थियो। फ्रगमोर कटेज भनिने उक्त घर उनीहरूले नै प्रयोग गर्नेछन्।
गत साता ह्यारी र मेगनले वरिष्ठ शाही सदस्यको पदवी त्यागेर क्यानडामा “पार्ट टाइम” बस्ने घोषणा गरेपछि शाही परिवारको सल्लाह बमोजिम यस्तो सम्झौता गरिएको हो। यो निर्णय शाही परिवारका लागि धक्का हो। महारानी एलिजाबेथ द्वितीयले साताको सुरूमा उनीहरूको पूर्णकालीन शाही सदस्य नै रहुन् भन्ने इच्छा व्यक्त गरेकी थिइन्। तर शनिबारको शाही घोषणामा भने उनले शुभेच्छा प्रकट गरिन्।
९३ वर्षिया महारानीले भनिन्,“मेरो नाति र उसको परिवारका लागि हामीले एउटा सिर्जनात्मक र सहयोगी बाटो पत्ता लगाउन सकेकोमा म हर्षित छु। ह्यारी, मेगन र आर्ची मेरो परिवारको प्रिय सदस्य सधैं हुनेछन्।”
“दुई वर्षदेखि उनीहरूले अनुभव गरेको चुनौतीलाई मैले बुझेकी छु। उनीहरूमाथि सबैको नजर थियो। स्वतन्त्र जीवन बिताउने उनीहरूको चाहनालाई म समर्थन गर्दछु।” उनले भनिन्,“यो सम्झौताले उनीहरूलाई सुशी र शान्त नयाँ जीवन सुरू गर्ने अवसर दिने मेरो परिवारको आशा छ।”
नयाँ सम्झौताले विशेष गरि ह्यारीको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। उनले प्रत्येक वर्ष दर्जनौं शाही कार्यक्रम गर्ने गर्थे। शाही विशेषज्ञ तथा लेखक पेन्नी जुनर नयाँ व्यवस्थाले दुवै परिवारलाई फाइदा पुग्ने बताउँछिन्।
“सबै प्रष्ट छ। उनीहरू नयाँ सुरूआत गर्दैछन्। रानीको आशिर्वाद पनि छ। मेरो विचारमा यो निर्णय सबैका लागि उत्तम छ,” उनले भनिन्। पिता राजकुमार चार्ल्सले ह्यारी र मेगनलाई आर्थिक सहयोग गर्छन् वा गर्दैनन, त्यो भने खुलेको छैन। छोरा बुहारी र नातिका लागि उनले डची अफ कोर्नवालको सम्पत्ति प्रयोग गर्थे।
सन् १३३७ मा चार्टर गरिएको डचीले पोहोर दुई करोडभन्दा धेरै राजस्व संकलन गरेको थियो। यसलाई निजी सम्पत्ति मानिन्छ। त्यसैले राजकुमार चार्ल्सले खर्च विवरण गोप्य राख्न सक्छन्। शाही परिवारको धेरै सम्पत्ति निजी श्रोतबाट आउँछ।
ह्यारी र मेगनले रानीको प्रतिनिधित्व नगरे पनि परोपकारसम्बन्धी निजी कार्यमा रानीको मुल्यमान्यतालाई कायम राख्ने दरबारले जनाएको छ। अब उनका भाइ राजकुमार विलियम र बुहारी केट, डचेस अफ क्याम्ब्रिजको भूमिका बढ्नेछ। ह्यारी र मेगनको सुरक्षामा कसरी खर्च हुन्छ, बकिङ्घम दरबारले खुलाएको छैन। हाललाई भने सरकारी खर्च भइरहेको छ। स्कटल्यान्ड यार्ड भनिने महानगरीय प्रहरीको विशेष एकाइले उनीहरूलाई सुरक्षा दिने गर्दछ।
“सरकारी खर्चमा सुरक्षा दिने वा नदिने निर्धारण गर्नलाई उपयुक्त स्वतन्त्र प्रक्रियाहरू छन्,” दरबारले जनाएको छ।
मे महिनाम छोरा आर्ची जन्मिएपछि सञ्चार माध्यमको नजर उनीहरूमाथि निरन्तर थियो। शाही दम्पत्ति यसबाट असन्तुष्ट थिए। सन् २०१८ मा उनीहरूको विवाह समारोहलाई विश्वभरिका मानिसले टेलिभिजनमा हेरेका थिए।
अभिनयमा सफलता पाएपछि मेगनले शाही परिवारसँग सम्बन्ध गाँसिन्। बेलायतभरि घुम्ने र नयाँ घरबारे जान्ने अवसरलाई लिएर उनी खुलेर बोल्थिन्। तर उनी चाँडै दुखी भइन्। पितालाई लेखेको पत्र छाप्ने एउटा समाचारपत्र विरूद्ध उनले अक्टोबरमा मुद्दा हालिन्। पत्निप्रति जातिय द्वेष राखेर प्रकाशन गरिएका समाचारप्रति ह्यारीले गहिरो असन्तुष्टि जनाएका छन्।
ह्यारी र विलियमको सम्बन्ध पनि चिसिएको छ। सार्वजनिक नगरिए पनि भावी राजा को बन्ने भन्ने विषयमा उनीहरूको मतभेद रहेको बुझिएको छ। शाही परिवारबाट अलग्गिने ह्यारी र मेगनको चाहनाबारे सञ्चारमाध्यममा महिनौंदेखि चर्चा भइरहेको थियो। रानी वा दरबारका अधिकारीबाट पूर्वस्वीकृति नलिई इन्स्टाग्राम र एउटा नयाँ वेबसाइटमा आफ्नो योजना सार्वजनिक गरेपछि वरिष्ठ शाही सदस्यहरू रिसाएका थिए।
साझा धरातल खोज्ने प्रयासमा रानी एलिजाबेथले ह्यारी, विलियम र चार्ल्सलाई आकस्मिक छलफलका लागि बोलाएकी थिइन्। त्यसैको परिणाम हो शनिबार गरिएको सम्झौता। तर शाही जिम्मेवारी घटाएर नयाँ र आर्थिक रूपले स्वतन्त्र जीवन बिताउने ह्यारी र मेगनको प्रारम्भिक प्रस्तावभन्दा फरक सहमति भयो।
क्यानडामा बस्ने स्थानबारे केहि खुलेको छैन। क्रिसमसको विदामा लामो समय बिताएको भ्यानकुभर वा टेलिभिजन श्रृङ्खला “सुट्स” को छायाङ्कनको क्रममा मेगनले धेरै वर्ष बिताएको टोरोन्टो हुनसक्ने धेरैको अनुमान छ। क्यानडमा उनीहरूको आप्रवासन र करसम्बन्धी व्यवस्था पनि खुलाइएको छैन। मेगनले बेलायती नागरिकता लिने वा नलिने विषय पनि प्रष्ट छैन।
एसोसिएटेड प्रेस