मन्त्रिपरिषद् अझै अपूर्ण, प्रधानमन्त्रीसहित १६ सदस्य निश्चित
संविधानमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउने अधिकार प्रधानमन्त्रीलाई छ।
काठमाडौं, चैत १७ : लामो गृहकार्यपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलीय भागबन्डा अनुसार मन्त्रिपरिषद् भने अझै अपूर्ण हुने भएको छ।
संविधानमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउने अधिकार प्रधानमन्त्रीलाई छ। दिउँसो ३ बजे नयाँ मन्त्रीका लागि राष्ट्रपति समक्ष सपथको समय तय भइसक्दा पनि दलहरु अझै छलफलमै छन्। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि अझै मन्त्रीका लागि पुरै नाम पठाउन बाँकी नै छ।
अन्य दलहरु पनि अहिलेसम्म छलफलमै छन्। अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँगै छ। आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार जनाको नाम दिएको छैन । यता जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ। अहिले नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १, नागरिक उन्मुक्ति १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रीको नाम फाइनल गरेका छन् ।
अहिलेसम्म गठबन्धन दलबाट फाइनल भएका नाममध्ये उपप्रधान तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल, शहरी विकासमा सीता गुरुङ छन्।
त्यस्तै उपप्रधान तथा गृह नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिंचाइमा शक्ति बस्नेत, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी छन्।
कृषि तथा पशुपन्छी विकासमा वेदुराम भुसाल, भौतिक पूर्वाधार तथा यातायातमा प्रकाश ज्वाला, शिक्षा, विज्ञान तथा प्रविधिमा अशाेक राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा शरतसिंह भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण रञ्जिता श्रेष्ठ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा महिन्द्र राय यादवको नाम तय भएको छ।











