कांग्रेसले किन दिएन सभामुखमा उम्मेदवारी?
काठमाडौं, माघ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार विहान सभामुखको उम्मेदवार चयनका विषयमा छलफल गर्न भन्दै संसदीय दलको बैठक बोलायो । सत्ता....
काठमाडौं, माघ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार विहान सभामुखको उम्मेदवार चयनका विषयमा छलफल गर्न भन्दै संसदीय दलको बैठक बोलायो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नी सापकोटालाई अघि सारेपछि कांग्रेसले पनि उम्मेदवार चयन गर्ने चर्चा थियो । तर दल बैठकले कांग्रेसले सभामुखमा उम्मेदवार नदिने निर्णय गर्यो।
बैठकपछि सचेतक भुसालले जारी गरेको विज्ञप्तीमा सभामुख पद तटस्थ हुनुपर्ने भएकाले कांग्रेसले उम्मेदवारी नदिने उल्लेख गरिएको छ। ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधी सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
लोकतन्त्रको सुन्दरता अनुसार ‘विधि र प्रक्रिया’मा भाग लिँदै आएको कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिनुको कारण विज्ञप्ती मार्फत पूर्णरुपमा खुल्दैन । कांग्रेसले उम्मेदवारी नदिनुलाई कसरी बुझ्ने ? भन्ने प्रश्नको जवाफ दिँदै भुसालले संसद आफैंमा सत्तापक्ष, प्रतिपक्षको साझा थलो भएको र यही मर्म अनुरूप कांग्रेसले उम्मेदवारी नदिएको तर्क गरिन् । ‘दलको बैठकमा उम्मेदवारीको पक्ष र विपक्षमा छलफल भएको थियो । तर, संसद साझा र तटस्थ होस् भन्ने हिसाबले उम्मेदवारी नदिने निर्णयमा पुग्यौ,’ उनले भनिन्, ‘रूलिङ पार्टीको बहुमत भएको अवस्था र सभामुख पद आफैंमा तटस्थ पद भएकाले हामीले उम्मेदवारी नदिने निर्णय गरेका हौं ।’
तत्कालिन सभामुख कृष्णबहादुर महरा सरकारको छाँया बनेको आरोप कांग्रेसले लगाउँदै आएको थियो । कतिपय अवस्थामा कांग्रेसले संसद अवरोध गर्दागर्दै पनि महराले संसद चलाएका थिए । अब त्यस्तो अवस्था नदोहोरियोस् भन्ने कांग्रेसको चाहाना हुनसक्छ । ‘सभामुखले सँधै तटस्थ भूमिका खेल्नुपर्छ । यो आफैंमा महत्वपूर्ण पद हो,’ भुसाल भन्छिन्, ‘भोलीका दिनमा उहाँ (सापकोटा)बाट हामीले त्यस्तै अपेक्षा राखेका छौं ।’
त्यती मात्रै होइन्, कांग्रेसले उपसभामुख पद प्रमुख प्रतिपक्षीले पाउनुपर्ने बताउँदै आएको छ । तर, त्यसबारे मंगलबारको बैठकमा कुनै छलफल नभएको र निर्वाचनको कार्यतालिका आएपछि मात्रै छलफल हुने भुसालको भनाइ छ।
संविधान अनुसार एउटै पार्टीले सभामुख र उपसभामुख दुवै पद पाउने अवस्था छैन । सोही कारण कांग्रेसले नेकपाले सभामुख पाउँदा उपसभामुख आफुहरुले पाउनुपर्ने बताउँदै आएको छ । सभामुखमा नेकपा उम्मेदवारलाई सर्वसम्वत निर्वाचित गराउँदा नेकपाले उपसभामुख दिन सक्ने आँकलन कांग्रेसको छ । त्यही मेसोमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर छलफल गरेको बताएका छन् । उनले छलफल पछि कांग्रेसलाई उपसभामुख दिन प्रचण्ड सकारात्मक रहेको प्रतिक्रिया संचार माध्यामहरुलाई दिए।
तर, ९ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपालेले तालमेल गर्ने सहमति गरिसकेकाले उपसभामुख कांग्रेसको पोल्टामा आउन सक्ने आधारहरु भने बनेको देखिदैन।
सोही सहमतिलाई आधार बनाएर नेकपाले राजपालाई उपसभामुख दिने चर्चा राजनीतिक वृत्तमा अलि बढि चुलिरहेको छ । मंगलबार सापकोटाको उम्मेदवारी दर्तामा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक थिए । कर्णको समर्थक रहनु नेकपाले राजपालाई उपभामुख दिन सक्ने संकेत भएको बुझिएको छ ।