प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आज साताैंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
काठमाडौं, चैत १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले आज (शुक्रबार) साताैंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सत्ता साझेदार ११ दलमध्ये ९ दलको सहभागितामा मन्त्रिपरिषद् विस्तार गरिएको हो।
प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन्। जसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री बनेका छन्। ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले चारजनाको नाम दिन बाँकी छ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जामन्त्री बनेका छन्। यसअघि उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराती र संघीय मामिलामा अमनलाल मोदीले नै निरन्तरता पाएका छन्। जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालयकै जिम्मेवारीमा निरन्तरता पाएका छन्।
जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका छन्।जसपाकाे भागमा दुई मन्त्रालय परेकोमा एक मन्त्रीको नाम दिन बाँकी छ। त्यस्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट वेदुराम भुसालले कृषिमन्त्रीको जिम्मेवारी पाएका छन् भने प्रकाश ज्वालालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाल समाजवादी पार्टी (नेसपा) बाट महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रन्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकी छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बनेका छन्।
सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेकाे छैन। अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँगै रहेकाे छ।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। यसका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको थियो।











