कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मख्यमन्त्री शर्मालाई विश्वासको मत दिने–नदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन्।
सुर्खेत, चैत १७ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै छ। सत्ता साझेदार दल राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।
कणाली प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
मख्यमन्त्री शर्मालाई विश्वासको मत दिने–नदिनेबारे दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् । कर्णालीमा नेपाली कांग्रेस सत्ता बाहिर नै छ भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले पनि अहिलेसम्म कुनै निर्णय गरेको छैन। आफूले सरकारको नेतृत्व पाउनुपर्ने दावी कांग्रेसले गर्दै आएको छ । कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक शुक्रबार बिहान नौ बजेदेखि जारी छ ।
बैठकले शर्मा नेतृत्वको सरकारलाई विश्वासको मत दिनेरनदिने भन्ने विषयमा कांग्रेस संसदीय दललाई निर्देशन दिने बताइएको छ।
एमालेसहितको २५ सांसदको समर्थनमा २७ पुसमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
कर्णालीमा प्रष्ट बहुमतका लागि कम्तीमा २१ सांसदको समर्थन आवश्यक पर्दछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३ र एमालेसँग १० (सभामुखसहित) तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद १–१ जना रहेका छन् ।











