उपनिर्वाचनमा ३ लाख ५३ हजार २४८ जना मतदाताले मतदान गर्ने
उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।
काठमाडाैं, चैत १६ : आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा ३ लाख ५३ हजार २४८ जना मतदाताले मतदान गर्ने भएका छन। उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनसमेतका लागि निर्वाचन आयोगले आज बिहीबार अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ । जस अनुसार गत मंसिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् भने चितवन २ र बारा २ मा मतदाता बढेका छन् ।
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ ।











