Kathmandu Press

कांग्रेस छाड्ने स्वर्णिम वाग्लेको घोषणा

‘२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले फेसबुक लेखेका छन्।
कांग्रेस छाड्ने स्वर्णिम वाग्लेको घोषणा

काठमाडाैं, चैत १६ : कांग्रेस नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाड्ने घोषणा गरेका छन्। उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत आफू आबद्ध रहँदै आएको पार्टी नेपाली कांग्रेसबाट अलग हुने घोषणा गरेका हुन्।

‘२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ उनले फेसबुक लेखेका छन्।

कांग्रेसभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उनले बताएका छन्। ‘विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएको जिम्मेवारी कौशलताका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ,’ उनले भनेका छन्।

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु,’ उनले लेखेका छन्, ‘आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।’

सामाजिक सञ्जालमा आफ्नो आधिकारिक धारणा राख्नुअघि उनले पार्टीका चार नेता शेखर कोइराला, गगन थापा, विश्वप्रकाश  शर्मा र डा. गोविन्दराज पोखरेललाई पत्र लेखेर कांग्रेस छाड्न लागेको बताएका थिए। रास्वपाले उनलाई वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवारका प्रस्ताव गरेको चर्चा पनि चलेको छ।  

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्