बारा २ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्दै
मंसिर ४ गते सम्पन्न निर्वाचनमा महताे सर्लाही २ मा पराजित भएका थिए।
काठमाडौं, चैत १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने भएका छन्।
लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए। मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनी सर्लाही २ मा पराजित भएका थिए।
जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा २ रिक्त भएको छ। निर्वाचन आयोगले बारा २ सहित तनहुँ १ र चितवन २ मा आगामी वैशाख १० गते उपचुनाव गर्ने तयारी गरेको छ।
जसपाले बारा २ बाट अध्यक्ष उपेन्द्र यादवलाई उठाउने चर्चा छ। गत निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी २ मा पराजित भएका थिए। जनमत पार्टीले सो क्षेत्रमा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। गत चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका कुशवाह बारा २ मा रामसहायसँग हारेका थिए।











