Kathmandu Press

कर्णालीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

राष्ट्रपति निर्वाचनमा माओवादी, एमाले र राप्रपालगायत दलको गठबन्धन भत्किएसँगै राप्रपा सरकारबाट बाहिएपछि शर्माले विश्वासको मत लिन लागेका हुन्।
कर्णालीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुर्खेत, चैत १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन्। राष्ट्रपति निर्वाचनमा माओवादी, एमाले र राप्रपालगायत दलको गठबन्धन भत्किएसँगै राप्रपा सरकारबाट बाहिएपछि शर्माले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई शुक्रबार विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै बुधबार पत्र पठाएका छन्।

प्रदेशसभाका प्रमुख सचिव जिवराज बुढाथोकीले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भएको बताए ।

माओवादी संसदीय दलका नेता शर्मा गत पुस २७ गते नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माघ ६ गते विश्वसको मत लिएका शर्मालाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए ।


राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि एमाले भने अहिले पनि सरकारमै छ। उसको विश्वासको मत दिने नदिने विषयमा निर्णय गरेको छैन ।

कर्णाली प्रदेशमा नेपाली कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना सांसद छन् ।

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्