Kathmandu Press

प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने?

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल पास गर्न माग गरे।
प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने?

काठमाडौं, चैत १५ : प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले मिटरब्याज पीडितको मागको सम्बोधन, नागरिकता विधेयक र सडक निर्माण लगायतका जनताका दैनिक जनजीवनसँगसम्बन्धीत विषयमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका छन्। 

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नागरिकता विधेयक तत्काल पास गर्न माग गरे। उनले नेपाली नागरिकको बाआमाबाट जन्मेका सन्तानले नागरिकता पाउने संवैधानिक हकका बाबजुद धेरैले नागरिकता पाउन नसकेका बताए। सांसद थापाले  भने, 'आफूहरुबीचको विमतिलाई थाती राखेर जन्मसिद्ध नागरिकता र आमाको नाममा नागरिकता पाउने व्यवस्थालाई ध्यानमा राखेर नागरिकता विधेयक पास गर्नुपर्छ।'

यस्तै, सांसद अमरेशकुमार सिंहले मिटरब्याज पीडितको माग पूरा गर्न माग गर्दै भने, “मिटरब्याज पीडितहरु राज्यको ऐना हो, राज्य कसरी सञ्चालन भइरहेको छ भन्ने।' मिटरब्याजको समस्या पटक–पटक दोहोरिनुको कारण सरकारको गम्भीर ध्यानआर्कषण नहुनु भएको सांसद सिंहको भनाइ थियो।

नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले दैलेख जिल्लामा २०७२ र २०७९ सालमा भएको प्राकृतिक प्रकोपले क्षति पुराएका बस्ती पुनःस्थापना र व्यवस्थापन हुन नसकेकोतर्फ सरकारको ध्यानार्कषण गराए।  शून्य समयमा बोल्दै नेकपा ९एमाले०का सांसद अमरबहादुर रायमाझीले उदयपुर जिल्लाको कटारी लगायतका स्थानमा नापीको काम यधाशीघ्र सुरु गर्न माग गरे।
 
एमाले सांसद अमृतलाल राजवंशीले झापाका किसान र पशुपालन व्यवसायीले आफनो उत्पादन र उपजको उचित मूल्य पाउन नसकेकोप्रति ध्यानार्कषण गराए। एमालेका सांसद अमृता अग्रहरिले कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरिन्। उनले तिलौराकोटले हजारौँ वर्षको ऐतिहासिक महत्व बोकेको भन्दै विश्व सम्पदा सूचीमा राख्नपर्ने बताए।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय तामाङ् सङ्ग्रहालय निर्माणको माग गर्नुभयो। सांसद अशोककुमार चौधरीले सुनसरीको विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको सडकको मर्मत सम्भार र निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

एमाले सांसद अस्माकुमारी चौधरीले दाङ घोराही उपमहानगरपालिकाका बस्ती वर्षायाममा बाढीको जोखिममा रहेको भन्दै ध्यानार्कषण गराइन्। उनले तटबन्ध निर्माण र बस्ती व्यवस्थापनमासमेत ध्यानार्कषण गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले एक महिनादेखि मन्त्रालय मन्त्रीविहीन भएको भन्दै मन्त्रिमण्डल विस्तार तत्काल हुनुपर्ने बताए।

एमाले सांसद ईश्वरबहादुर रिजालले दोलखाका विभिन्न स्थानमा बन्द भएको स्लेट् ढुङ्गाखानी तत्काल सञ्चालन गर्न माग गए। एमालेका अर्का सांसद ईश्वरी घर्तीले रोल्पामा चिकित्सकको अभावमा जनताले महँगो शुल्कमा उपचार गर्न बाध्य भएको भन्दै सरकारको ध्यानार्कषण गराइन्। उनले उपचारका लागि केन्द्र धाउन पर्ने बाध्यताको अन्त्य गर्न विशेषज्ञ चिकित्सकको दरबन्दीका लागि माग गर्नुभयो। उनले जिल्लाका स्वास्थ्य स्वयमसेविकाले राज्यबाट सेवा सुविधा नपाएकोसमेत बताए।

एमाले सांसद महेश बर्तौलाले संसद्मा  पटक –पटक संसद्को नियम उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाए। एमालेका सांसद एकनाथ ढकालले राष्ट्रिय गौरबका योजनाप्रति सरकारको ध्यानार्कषण गराउँदै बूढीगण्डकी जलविद्युत् आयोजनालाई अन्यौलतर्फ नधकेल्न माग गरे।

नेपाली कांग्रेसका सांसद कल्पना चौधरीले ठूलो सङ्ख्यामा युवा जनशक्ति बेरोजगार भएको चर्चा गरिन्। नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले  विकट स्थानका विद्यार्थीको खाजा खर्च बढाउन माग गर्नुभयो। कांग्रेसका सांसद सुमदेवी थापाले रुकुमपूर्वको सदरमुकाम २०७४ सालमा तोकिएको नयाँ सदरमुकाम सञ्चालनतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्। एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले चीन सरकारको सहयोगमा निर्माण भएको चक्रपथ अलपत्र अवस्थामा भएको भन्दै मर्मत सुधारको नाममा अलपत्र नपार्न माग गरे। 

माओवादी केन्द्रका संसद् गङ्गा कार्कीले दोलखा जिल्लाको कालीञ्चोक गाउँपालिका वडा पाँचमा रहेका थामी बस्ती जोखिममा रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जाेड दिइन्। नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कमैया प्रथाको मुक्तिको घोषणा गरेर कानुन निर्माण गरे पनि पुनःस्थापना हुन नसकेको बताए। उनले सरकारले आश्वासन मात्र बाँडेको भनी असन्तुष्टि प्रकट गरे।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले धनगढी उपमहानगरपालिकामा छ महिनादेखि स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको बताए। माओवादी केन्द्रका सांसद छिरिङ डम्डलु लामा (भोटे) ले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडन माग गरे। उनले राष्ट्रिय प्रसारण लाइन जोड्न  र पर्यटकीय गन्तव्यको रुपमा हुम्ला जिल्लाको विकास गर्नसमेत माग गरे।  

माओवादी केन्द्रका सांसद छिरिङ ल्हामु लामाले सङ्घीय कर्मचारी ऐनको अभावमा कर्मचारी व्यवस्थापन र वृत्ति विकासमा भद्रगोल भएको बताए। नेपाली कांग्रेसका सांसद जीवन परियारले देशव्यापी समस्याको रुपमा रहेको मिटरब्याज पीडितहरुको न्यायका लागि तत्काल निर्णय गर्नुपर्ने बताए। उनले मुसहर बस्तीको व्यवस्थापन गर्न समेत माग गरे।

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्