साम्बा र अनिता आई लिग खेल्न भारततर्फ
काठमाडौं, माघ ७ : नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकरद्वय सावित्रा भण्डारी ‘सम्बा’ र अनिता बस्नेतले पुनः भारतीय महिला फुटबल (आई) ....

काठमाडौं, माघ ७ : नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकरद्वय सावित्रा भण्डारी ‘सम्बा’ र अनिता बस्नेतले पुनः भारतीय महिला फुटबल (आई) लिग खेल्ने भएका छन्। सावित्रा र अनिता दुवैले लगातार दोस्रो सिजन भारतीय लिग खेल्न लागेका हुन्। उनीहरू मंगलबार भारततर्फ लागेका छन्।
अघिल्लो सिजन दुवैले सेथु एफसीबाट खेल्दै क्लबलाई च्याम्पियन बनाएका थिए। तर, यसपटक भने सावित्रा र अनिता फरक–फरक टिमबाट खेल्ने छन्।
आई लिगमा यसपटक सावित्राले गोकुलम केराला एफसीलाई रोजेकी छिन भने अनिता भने सुथुबाटै खेल्नेछिन् ।
अघिल्लो सिजन सेथुलाई च्याम्पियन बनाउने क्रममा सावित्राले तीनवटा ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्। फाइनलमा सावित्राले नै दुई गोल गरेपछि मनिपुर पुलिसलाई ३–१ ले हराउँदै सेथु च्याम्पियन बनेको थियो। उनी प्लेयर अफ द फाइनल पनि भएकी थिइन्।
अघिल्ला पटक पनि सावित्राले सुरुआतमा गोकुलमबाट खेल्ने तय भएको थियो। तर, उनले अन्तिम समय सेथुलाई रोजेकी थिइन्।
लिगका लागि मंगलबार भारत जानुअघि सावित्राले उत्कृष्ट खेल्दै गोकुलमलाई च्याम्पियन बनाउने आफ्ने लक्ष्य रहेको बताएकी छिन्। उनले भनिन्, ‘अघिल्लो सिजन सेथुलाई च्याम्पियन बनाइयो, यसपटक नयाँ क्लबलाई च्याम्पियन बनाउने जिम्मेवारी छ। आफ्नो तर्फबाट शतप्रतिशत मेहनत गर्दै टिमलाई जिताउन प्रयास गर्नेछु।’
सावित्राको टिम गोकुलम भने आई लिगमा छनोट भइसहेको छैन। उसले अहिले छनोट चरण नै खेलिरहेको छ। छनोट चरणमा अलखपुर फुटबल क्लबविरुद्ध जित निकाले मात्र गोकुलम शुक्रबारबाट सुरु हुने लिगका लागि छनोट हुनेछ।
छनोटको पहिलो लेगमा १–० को जित निकालेकाले गोकुलम केही सहज अवस्थामा भने छ। दोस्रो खेल बुधबार हुनेछ।
आई लिगमा १२ टिम सहभागी छन्। जसलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष दुई टिम सेमिफाइलन पुग्नेछन्।
समूह ‘ए’मा सेथु एफसी, बरोडा फुटबल एकेडेमी, बीबीके देव फुटबल क्लब, कोल्हापुर सिटी, कङ्चुप रोड, किकस्टार्ट एफसी कर्नाटक छन् भने समूह ‘बी’मा बैंग्लोर युनाइटेड फुटबल क्लब, विदेश–११ स्पोट्र्स क्लब, केन्क्रे एफसी, उडिसा पुलिस, श्री भूमि फुटबल क्लब र गोकुलम र अलखपुरमध्ये एक हुनेछन्।











