कोसी प्रदेश नामको विरोधमा जारी आन्दोलनबारे लिङ्देनले मागे सरकारकाे धारणा
प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए।
काठमाडौं, चैत १५ : राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए।
कोसी प्रदेश नामकरणमा भइरहेको विरोधमा सरकारले अनदेखा गरिरहेको र गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान गएको उनले बताए। उहाले सैद्धान्तिक रुपमा राप्रपाले प्रदेश संरचना आवश्यक नरहेको र द्वन्द्व सिर्जना गर्न सक्छ भनिरहेको अवस्थामा अहिले त्यही कुरा पूर्वमा देखिन थालेको जिकिर गरे।
त्यस्तै लिङ्देनले मिटरव्याजी पीडितको धर्नालाई समर्थन जनाउदा जाँदा आफ्ना नेता ज्ञानेन्द्र शाहीलाई सत्तापक्षका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाए। उनले मिटरब्याजीको समस्या समाधानमा ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराए।