राज्यले सम्झौता कार्यान्वयन नगर्दा मिटरब्याज पीडित मर्कामा : सांसद पाैडेल
कानुनको मस्यौदा महिनौं थन्किँदा साहु महाजनले छलकपट गरेर किसानको जग्गा लिलाम गरिरहेकाे उनले बताए। उनले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको पनि बताए।
काठमाडौं, चैत १५ : कांग्रेस सांसद प्रदीप पौडेलले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने राज्यको प्रवृत्तिका कारण मिटरब्याजपीडित मर्कामा परेकाे र उनीहरूले न्याय माग्दै पटकपटक काठमाडौं आउनुपरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा समय लिएर बोल्दै उनले भने, ‘नागरिक सधैं दुखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौं धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौं आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटकपटक धाइरहनुपर्ने। कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने?’
सिरहा र महोत्तरीका मिटरब्याज पीडित ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएको र रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको जानकारी आफूले पाएको उनले बताए।
यसअघि नवलपरासीका मिटरब्याजपीडितले पटकपटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव कार्यान्वयन नभएको भन्दै उनले आपत्ति जनाए।
‘कार्यदलले मिटरब्याजलाई गम्भीर आर्थिक अपराधका रूपमा स्वीकार गरे पनि त्यसअनुसार कानुन नबनाउँदा साहुहरुले किसानको जग्गा धमाधम हडपिरहेका छन्,’ उनले भने, 'जमिनमाथि किसानको स्वामित्व कायम गर्ने, फर्जी तमसुकका आधारमा हडपिएको जमिन फिर्ता ल्याउनेलगायत किसानसँग ५ बुँदे सहमति भएको र कानुनको मस्यौदा गृहमा अड्किएको भन्ने सुनेको छु।'
कानुनको मस्यौदा महिनौं थन्किँदा साहु महाजनले छलकपट गरेर किसानको जग्गा लिलाम गरिरहेकाे उनले बताए। उनले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको पनि बताए।











