वर्तमान सरकार पाँच वर्षसम्म टिक्छ : प्रचण्ड
बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गरे।
काठमाडाैं, चैत १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने भन्दै सरकार फेरिने चिन्ता नगर्न आग्रह गरे।
उनले संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको भन्दै यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने उल्लेख गरे।
संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व गरेकाले वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको उनले बताए।
उनले स्थानीय तहको सेवाप्रवाहरुलाई चुस्त र जनउत्तरदायी बनाउदै नागरिकको आत्मीयता र अपनत्वबोधका निम्ति गम्भीर भूमिका खेल्नुपर्ने बताए। सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसका माध्यमबाट न्याय निरूपणमा ध्यान दिनुपर्ने धारणा राखे।