माओवादी नेता शिवचन्द्र कुसवाह जनमत पार्टीमा, बारा २ मा उपनिर्वाचन लड्ने
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जालझेर गरेर आफूलाई माइनस गरिएको भन्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन्।
काठमाडाैं, चैत १५ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन्। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जालझेर गरेर आफूलाई माइनस गरिएको भन्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन्।
गत प्रतिनिधि सभा निर्वाचनमा उनी माओवादीबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मतले पराजित भएका थिए।
रामसहाय उपराष्ट्रपति बनेकाले बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ। जनमत पार्टी प्रवेश गरेका कुसवाह उपनिर्वाचन लड्ने तयारीमा छन्।
आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए। सो क्षेत्रमा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन्।
माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको कुशवाहाले बताए।
उनले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको जिकिर गरे। जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उहाले बताए।











