Kathmandu Press

म्यानपावरकाे लापरवाहीले पाँच नेपाली पाँच महिनादेखि मलेसियामा अलपत्र

म्यानपावरकाे लापरवाहीले पाँच नेपाली पाँच महिनादेखि मलेसियामा अलपत्र

काठमाडौं, चैत १५ : खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्। वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्।

मलेसियामा अलपत्र पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् ।

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत  हारगुहार गरिरहेका छन्।

दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिए।

‘यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो। अहिले हामी आएको पाँच महिना बितिसक्यो। कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्’, उनले भने, ‘नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन्। हामीलाई बन्दी बनाएर राखिएको छ।’

काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ।
 

प्रकाशित मिति: ११:३० बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्