Kathmandu Press

कोशी प्रदेशको विरोध : १७ राउण्ड हवाई फायर

कोशी प्रदेशको विरोध : १७ राउण्ड हवाई फायर

विराटनगर, चैत १४ : कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरु उग्र भएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको छ ।

विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको पहरीले जनाएको छ । 

स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए। घटनामा छ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए।

सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध र्‍याली निकालेको थियो । यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: १७:५५ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्