मिटर ब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन : गृह मन्त्रालय
मिटरब्याजी पीडितहरुलाई भेट्न सरकारका तर्फबाट गृहका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारीलगायतको टोली प्रदर्शनस्थलमा पुगेको थियो।
काठमाडाैं, चैत १४ : गृह मन्त्रालयले कानुनी व्यवधान रहेकाले मिटरब्याजपीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने जनाएको छ। मिटरब्याजपीडितका समस्या समाधानका लागि धेरै कानुन संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने गृह मन्त्रालयले बताएको हो।
बर्दिबासबाट पैदलै काठमाडौं आई आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूलाई भेट्न प्रदर्शनस्थलमा पुगेको गृह मन्त्रालयका सहसचिवको टोलीले मिटरब्याज पीडितहरूको समस्या वर्तमान कानुनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको जनाएको हो। मिटरब्याजी पीडितहरुलाई भेट्न सरकारका तर्फबाट गृहका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारीलगायतको टोली प्रदर्शनस्थलमा पुगेको थियो।
‘पीडितहरू मिटरब्याजीलाई कारबाही गर्’, ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर्’ लगायत नारा लगाउँदै काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि रहनेगरी समिति गठन गरेका छन्। जसमा गृह सहसचिव रुद्रादेवी शर्मा र उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डंगा छन् ।
चार सदस्यीय यो टोलीले मिटरब्याज पीडितसँग भेट्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले पनि आजै मिटरब्याज पीडितसँग भेट्ने तयारी गरेका छन् ।











