राप्रपाले तोक्यो उपनिर्वाचनका लागि चुनावी कमान्डर
चितवन–२ को कमान्डर उपाध्यक्ष विक्रम पाण्डे बनेका छन् भने बारा–२मा अर्का उपाध्यक्ष बुद्धिमान तामाङ र तनहुँ–१मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई चुनावी कमान्डर बनाइएको छ।
काठमाडाैं, चैत १३ : आसन्न उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी कमान्डर तोकेको छ। आगामी वैशाख १० गते ३ निर्वाचन क्षेत्र चितवन–२, बारा–२ र तनहुँ–१मा उपनिर्वाचन हुँदैछ।
सोही उपनिर्वाचनका लागि सोमबार बसेको पदाधिकारी बैठकले कमान्डर तोकेको हो । जसअनुासर चितवन–२ को कमान्डर उपाध्यक्ष विक्रम पाण्डे बनेका छन् भने बारा–२मा अर्का उपाध्यक्ष बुद्धिमान तामाङ र तनहुँ–१मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई चुनावी कमान्डर बनाइएको छ।
यस्तै, बैठकले बैशाख २९ र ३० गते काठमाडौंमा केन्द्रीय कार्यसमिति समिति बैठक निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाए। उनका अनुसार पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न बैशाखभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने पनि निर्णय भएको छ।
राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ। आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरदराज पाठक र सहमहामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरेको छ।











