काेसी प्रदेश सरकारले पदम लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने
कोसी प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।
विराटनगर, चैत १३ : कोसी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले गरेको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रिपरिषदको आज (सोमबार) बसेको बैठकले राहत दिने निर्णय गरेको हो।
कोसी प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।
बैठकले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ। बैठकले घटनाको छानबिनकामा संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।
बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने सबै पक्षलाई धन्यवाद पनि दिएको छ। फागुन १७ गते प्रदेशको नाम कोसी राखिएको थियो। त्यसप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरहरूले आन्दोलन गरेका थिए।











