सदनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनले तयारी गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्री दहाललाई भेटेका हुन्।
काठमाडाैं, चैत १३ : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। सभामुख घिमिरे प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान प्रधानमन्त्री निवास वालुवाटर पुगेका थिए।
प्रधानमन्त्री दहाल र सभामुख घिमिरेबीच सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएकाे छ। सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनले तयारी गरेपछि सभामुख घिमिरेले प्रधानमन्त्री दहाललाई भेटेका हुन्।
६ चैतमा प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । जसमा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुबाट परेको छ।
सभामुखको तजबिजी अधिकार कटौती हुने गरी संशोधन प्रस्ताव परेपछि सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग परामर्श गर्दै आएका छन्। आइतबारको संसद बैठकअघि पनि सभामुख घिमिरेले विभिन्न दलका प्रतिनिधिहरुसँग संसद् भावनमा छलफल गरेका थिए।
केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ।











