Kathmandu Press

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

छैटौँ विश्व नेवा दिवसका अवसरमा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए।
नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, चैत ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वद्र्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

छैटौँ विश्व नेवा दिवसका अवसरमा वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए।

उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए। 'शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो। पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ', उनले भने, 'नेपाल सरकारका तर्फबाट नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको यही डबलीबाट हो।'

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालयलगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ।

'विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजप्रति सम्मान व्यक्त गर्नैपर्छ', उनले भने। 

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी दिनमा समग्र रुपमा नेपाली समाजको रुपान्तरणका निम्ति नेपालको भाषा संस्कृति तथा नेपाल भाषा र संस्कृतिको विकासका निम्ति अझ महत्वपूर्ण योगदान पुर्‍याउन सबैमा आग्रह गरे। 

उनले नेवार समुदायबाट विकसित भएर राष्ट्र र नेपाल भाषा, संस्कृतिको विकासमा योगदान गर्ने सम्मानित व्यक्तित्वप्रति बधाई ज्ञापन गरे।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाललाई चिनाउने महत्वपूर्ण चिनारी नेवा भाषा, संस्कृति र कला भएको बताए। नेवारी सभ्यतालाई इतिहासमा मात्र सीमित नराखी नेवारी भाषा संस्कृतिलाई अगाडि बढाउन उनले आग्रह गरे। नेवारी संस्कृतिको प्रवद्र्धनले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गर्ने उहाँको भनाइ छ। 

नेवा दे दवुःका अध्यक्ष पवित्र बज्राचार्यले नेवा कला संस्कृति विश्वमा उत्कृष्ट रहेको र यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए। 

वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल भाषाको संरक्षणमा च्याप्टर लाग्दै आएको जानकारी दिए। 'जहाँजहाँ नेवार छन्, त्यहाँत्यहाँ दिवस मनाइएको छ, यसबाट नेवारी संस्कृति विश्वभर पुगेको छ', उनले भने। 

कार्यक्रममा नेवारी कला, संस्कृति, भाषाको संरक्षणमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले जनकवि दुर्गालाल श्रेष्ठ, इतिहासविद् त्रिरत्न मानन्धर, पूर्वराजदूत केदारभक्त माथेमा, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगी रुपज्योति कंसाकार र वरिष्ठ पत्रकार नातिकाजी महर्जनलगायतलाई सम्मान गरेका थिए। 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्