माओवादीको पदाधिकारी बैठक जारी, पार्टीले लिने मन्त्रालयबारे छलफल
शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकमा सरकार विस्तार, पार्टीले लिने मन्त्रालयबारे छलफल भइरहेको बताइएको छ।
काठमाडौं, चैत ११ : माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकमा सरकार विस्तार, पार्टीले लिने मन्त्रालयबारे छलफल भइरहेको बताइएको छ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार गर्ने बताए पनि भागबन्डामा सहमति जुट्न नसक्दा त्यसमा ढिलाइ भइरहेको छ। साना दलहरुले पनि भाग खोज्दा गठबन्धनभित्र भागबन्डा मिलाउन सकस परिरहेको जनाइएको छ।
स्रोतका अनुसार माओवादी केन्द्रले ५ मन्त्रालय पाउने भएको छ। माओवादी लिएकामध्ये केही मन्त्रालय साटफेर हुन सक्ने देखिएको छ।
माओवादी अहिले भौतिक पूर्वाधार, सञ्चार, सामान्य प्रशासन र पर्यटन मन्त्रालय लिएको छ। त्यसका साथै एक राज्य मन्त्री माओवादीबाट नियुक्त भएका छन्। माओवादीले गृह मन्त्रालय लिने लगभग निश्चित छ। त्यसो हुँदा माओवादीले लिइरहेका मन्त्रालय हेरफेर हुने भएको छ। सोही विषयमा पनि छलफल हुने एक नेताले बताए।
सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा माओवादी केन्द्र र जनमत पार्टीका प्रतिनिधि मात्र छन्।










-ink-1740145376.jpeg)
