Kathmandu Press

सभामुखको निर्वाचन माघ १२ गते गर्ने तयारी

काठमाडौं, माघ ६ : प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। यसका लागि संसद सचिवालयले तयारी सुरू गरेको छ।

आज बसेको कार्यव्यवस्था....

सभामुखको निर्वाचन माघ १२ गते गर्ने तयारी
फाइल फाेटाे

काठमाडौं, माघ ६ : प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। यसका लागि संसद सचिवालयले तयारी सुरू गरेको छ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि दलहरूबीच सभामुखको निर्वाचनबारे सहमति भएको छ। माघ १२ गते निर्वाचन गर्ने सहमति भएको जनाएको छ।

बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभमुख पद रिक्त रहेको छ।

सभामुख चयन गर्न पुस ४ गते नै अधिवेशन बोलाइएको थियो। तर, नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा संसद बैठक सूचना टाँसेर स्थगित हुँदै आएको थियो।

आइतबार नेकपाले सभामुखमा अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सभामुख चयनको प्रक्रिया संसदले आजैदेखि सुरू गर्ने भएको छ। यसका लागि अपराह्न ४ बजे संसद बैठक बोलाइएको छ।

यस अघि दिउसो १ बजे बसेको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिने जानकारी दिएकी थिइन्। उनले संसद सचिवालयमा राजीनामा पत्र बुझाइसकेकी छन्।

 

 

प्रकाशित मिति: ०४:२० बजे, सोमबार, माघ ६, २०७६