हरेक क्षेत्रमा महिला सहभागिताले समतामूलक समाज निर्माण गर्न सहज हुन्छ : प्रधानमन्त्री
महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक रहेको उनले बताए।
काठमाडौं, चैत ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सहज हुने बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन २३’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सहज हुने बताएका हुन्।
महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक रहेको उनले बताए। त्यस्तै उनले लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेकाले उनीहरुको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गरे। लैङ्गिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने भएकाले यसप्रति सरकारको गम्भीरताका साथ ध्यान पुगेको उनको भनाइ छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा महिला सशक्तिकरण तथा नेतृत्व विकास र उद्यमशीलतामार्फत अर्थतन्त्रमा महिलाको योगदानलगायत विषय प्राथमिकताका साथ उठाइने आयोजकले जनाएको छ।










-ink-1740145376.jpeg)
