मन्त्रिपरिषद विस्तारको तयारी, यसरी हुँदैछ मन्त्रालय भागबन्डा
स्रोतका अनुसार नेपाली कांग्रेस उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुनेछ। कांग्रेसले अर्थ, परराष्ट्र, स्वास्थ्य र रक्षा मन्त्रालय पाउने निश्चित भएको छ। बाँकी ४ मन्त्रालय कुनकुन हुने भन्ने विषयमा छलफल जारी छ।1679658040.jpg)
काठमाडौं, चैत ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट विश्वासको मत लिएसँगै सरकारका विस्तारको तयारी तीव्र भएको छ।
सत्तारुढ १० दलबीच मन्त्रालयको भागबन्डा र सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा समानान्तर रुपमा छलफल भइरहेको छ।
२२ मन्त्री र ३ राज्यमन्त्रीमा संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ। आठ मन्त्रालय कुन कुन हुने भन्ने टुंगो लगाउन बाँकी छ।
स्रोतका अनुसार नेपाली कांग्रेस उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुनेछ। कांग्रेसले अर्थ, परराष्ट्र, स्वास्थ्य र रक्षा मन्त्रालय पाउने निश्चित भएको छ। बाँकी ४ मन्त्रालय कुनकुन हुने भन्ने विषयमा छलफल जारी छ।
त्यसैगरी माओवादी केन्द्रले ५ मन्त्रालय पाउने भएको छ। माओवादी लिएकामध्ये केही मन्त्रालय साटफेर हुन सक्ने देखिएको छ। माओवादी अहिले भौतिक पूर्वाधार, सञ्चार, सामान्य प्रशासन र पर्यटन मन्त्रालय लिएको छ। त्यसका साथै एक राज्य मन्त्री माओवादीबाट नियुक्त भएका छन्। माओवादीले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिएको गृह मन्त्रालय लिने लगभग निश्चित छ। त्यसो हुँदा माओवादीले लिइरहेका मन्त्रालय हेरफेर हुने भएको छ।
त्यस्तै रास्वपा पनि सरकारमा सहभागि हुने भएको छ। तर उसले वैशाख १० गतेका उपचुनावपछि मात्रै मन्त्री पठाउने जानकारी प्रधानमन्त्री दाहाललाई दिएको छ। त्यतिबेलासम्म रास्वपाकाे भागमा परेकाे मन्त्रालय पनि प्रधानमन्त्रीले राख्ने जनाइएको छ।
त्यस्तैगरी जनता समाजवादी पार्टी (जसपा) ले २ मन्त्री मन्त्री पाउने भएको छ। नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले भने २ मन्त्री र १ राज्य मन्त्री पाउने भएको छ।
त्यस्तै जनमत पार्टी एक मन्त्रीसहित सरकारमा सहभागी भएसकेको छ। त्यसका साथै नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई पनि एक मन्त्रालय दिने तयारी छ। प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका स्वतन्त्र सांसदहरुलाई पनि एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पनि सरकारमा सहभागि भयो भने माओवादी वा कांग्रेसको एक मन्त्रालय घट्नेछ।










-ink-1740145376.jpeg)
